कम्युनिष्ट आन्दोलनमा बेलाबेलामा चलिरहने फुटको पुनरावृत्तिले घाइते एमालेको घाउलाई चितवनले निको पारेको छ ।
नेकपा एमाले र केपी शर्मा ओलीको राजनीतिक छलाङ नारायणी किनारबाट देश विदेशमा तरंगित भइरहेको छ । २०७८ मंसिर १० गते नारायणी नदी किनारबाट नेकपा एमालेको १० औं महाधिवेशनका विचारहरू विचरण गर्दै कैयन माइल परसम्म बग्दै अघि बढिरहेको छ । त्यहीं दिनबाट सलह जसरी पूर्वपश्चिम राजमार्ग हुँदै एमाले र केपी ओलीका बयानले नेपालको राजनीतिक आकाश ढाकिरहेको छ ।
विचार र राजनीतिले ढाकेको त्यो दिनपछि जितेको मान्छे हराउन मतपत्र च्यात्ने इतिहासलाई पनि चितवनले बिर्सिदिएको छ । स्वाभिमानी र इमानको राजनीति सिकेको चितवनले लाखौंलाख आगन्तुकलाई स्वागत गर्न पाउँदा हर्षविभोर छ । जब–जब आगन्तुकहरू चितवनको त्यो नदीकिनार नजिक पुग्दै थिए । झन्झन् हर्षित हुँदै थिए । अधिक भीडको कोचाकोच, भोक, प्यास र अनेक दुःखलाई भुलिरहेका थिए । सबैजसोले एकतमास नारायणी किनारको भव्य मञ्चतिर खुसीका दृष्टि तेस्याइरहेका थिए ।
लाखौँ मध्ये केहीकेहीलाई सोधियो, ‘तपाईं किन यहाँ ?’ जवाफ थियो, ‘केपी ओली हेर्न ।’ समकालीन नेपाली राजनीतिमा केपी शर्मा ओली नेतृत्वको एमालेको अपरिहार्यतालाई त्यो लाखौं भीडले मागिरहेको थियो । त्यो दिनले ओली र एमाले विश्व राजनीतिमा एउटा रोचक इतिहास रच्योे । विभिन्न अन्तर्राष्ट्रिय आम सञ्चार माध्यमहरूले त्यो दिन बारे गरेको बयानले उक्त दावालाई पुष्टि गर्छ । अझ भन्नुपर्दा पुँजीवादको प्रचारक माध्यमहरूको रिपोर्टहरूले नै ओली र एमालेलाई जोडेर मार्क्सवाद को जरासम्म समीक्षा ग¥यो ।
नेपालको सबैभन्दा ठूलो राजनीतिक दल नेकपा एमालेको १०आँै राष्ट्रिय महाधिवेशनले केपी ओलीलाई दोस्रो पटक अध्यक्षमा निर्वाचित गरेको छ । पहिलो पटक अध्यक्ष हुँदा ओलीले राष्ट्रिय अन्तर्राष्ट्रिय आक्रमणबाट एमालेलाई जोगाउन ढालको काम गरे । पार्टीभित्र र बाहिरी शक्तिले आगो झोसिदिएको एमालेको घरलाई जल्नबाट जोगाउन बारुणयन्त्र बने ।
फेरि पनि, ओलीको विकल्प नभएकाले प्रचण्ड बहुमतले पुनः उनैलाई नै नेतृत्व गर्ने जिम्मेवारी सुम्पियो । नारायणीको बालुवामाथि टल्किएका अनुहारहरूले ओलीकै निरन्तरताको मत जाहेर गरेका थिए । र, सौराहाको बन्द भेलाले त्यहीं परिपुष्टि गरेको हो । चितवनबाट एमालेको वैचारिक झोला बोकेर नेपालभर छरिएका लाखौंलाख नेता, कार्यकर्ताले केही नयाँ सन्देश दिइरहेका छन् । सौराहाको शान्त राष्ट्रिय निकुञ्जबाट नेपालको राजनीतिमा केही मार्गचित्र कोरेको छ ।
एमाले अझै शक्तिशाली
नेपालको कम्युनिस्ट आन्दोलनमा बेलाबेलामा चलिरहने फुटको पुनरावृत्तिले घाइते एमालेको घाउलाई चितवनले निको पारेको छ । नेपालको राजनीतिमा यो पार्टीलाई फेरि पनि पहिलो शक्तिको रूपमा स्थापित गरेको छ ।
राजनीति एउटा भीडहरूको खेती पनि हो भन्ने राजनीति शास्त्रीको भनाइलाई सत्य ठान्दा चितवनले त्यो सन्देश दिएको छ ।
दलीय राजनीतिमा जनमत सबैभन्दा ठूला कुरा हुन्छ । आफूमा सञ्चित जनमतको आकलन गर्दै चितवन सौराहाको बन्दसत्रले सगौरव घोषणा ग¥यो, ‘हामी तीन वटै तहका निर्वाचनहरूका लागि जित्नेगरी तयार भयौं ।’
जबजको अन्तर्राष्ट्रियकरण
नेकपा एमालेको सफलताको प्रमुख कारण जननेता मदन भण्डारीले प्रतिवादन गरेको जनताको बहुदलीय जनवाद (जबज) लाई लिने गरिन्छ । नेकपा एमालेको १० औं महाधिवेशन सम्म आइपुग्दा एमालेले जबजलाई ‘ब्रान्डिङ’ गर्दै आएको छ । लोकतान्त्रिक रूपान्तरण गरेर नेपाली माटो सुहाउँदो कम्युनिस्ट राजनीतिलाई जनमतबाटै स्थापित हुनुको पछाडिका कारणबारे अन्तर्राष्ट्रमा खोज हुन थालेको छ । सन् १९९१ मा न्युजविक नामको अमेरिकी अखबारमा प्रकाशित ‘नेपाल, जहाँ कार्ल मार्क्स जीवित छन’ शीर्षकको अन्तरवार्तापछि जननेता मदन भण्डारी विश्वविख्यात भए ।
दुनियाँबाट कम्युनिस्ट सरकारहरू धमाधम पतन भइरहेका बेला ‘जनताको बहुदलीय जनवाद’ले मार्क्सवादी दर्शनलाई नवीन व्याख्या ग¥यो । त्यसैको आधारमा जनमतबाटै नेपालको पहिलो कम्युनिस्ट प्रधानमन्त्रीको हैसियतले २०५१ सालमा मनमोहन अधिकारीको सरकारले लोककल्याणकारी समाजवादी ढाँचाबाट काम ग¥यो । जबजलाई उच्चतम वैज्ञानिक समाजवादी ढाँचाबाट चिरफार गर्दै २०७२ पछि दुई पटक प्रधानमन्त्री हुँदा विकासका दृष्टिले सारिएको नवीन सोचहरू अर्को अध्ययनको विषय बनिरहेको छ ।
ओलीवादको जन्म
एमालेको त्यो अधिवेशनलाई ‘ओलीवेशन’ भन्दै केहीले राजनीतिक पीडा ओकले । एमालेका आम कार्यकर्ता र बहुसंख्यक नेपाली जनताले एमालेका अध्यक्ष ओलीप्रति गरिरहेको प्रेमको मापन गर्दा उक्त भनाइ ठिकै हो भन्ने पनि लाग्छ । विश्व राजनीतिमा कम्युनिस्ट लिग हुँदै सन् १८४८ को कम्युनिस्ट मेनिफेस्टो तयार पार्ने कार्ल मार्क्स र सहयात्री फ्रेडरिक एंगेल्स पहिलो चर्चित समाजवादी नेता हुन् । सन् १९१७ को रुसी महान् अक्टोवर क्रान्तिले जन्माएको भ्लादिमिर लेलिन र जोसेफ स्टालिनले आफ्नै इतिहास रचे । सन् १९२१ मा चिनियाँ कम्युनिस्ट पार्टी स्थापना भई १९४९ मा जनवादी गणतन्त्र चीनसम्म आइपुग्दा माओत्सेतुङ नायक बने । देङ स्याओपिङको सुधारवाद र चिनियाँ विशेषतासहितका समाजवादका नायकत्व गर्ने सी चिन फिङबाट दुनियाँ चकित भइरहेका छन् ।
२००६ सालमा पुष्पलालले कम्युनिस्ट पार्टी स्थापना गरे । उक्त पार्टीको पाँचौं महाधिवेशनबाट जननेता मदन भण्डारीको जबजको प्रार्दुभाव गरे । मनमोहन अधिकारीले सरकारका कामहरूमा लोककल्याणकारी राज्यको झल्को दिए । केपी शर्मा ओलीले नेपालको सन्दर्भमा लोककल्याणकारी समाजवादी विकासको आधुनिक मोडेललाई स्थापित गरे । नेपाली माटोमा कल्पना नगरिएका विकासका आयाम थालनी गरे । चौतर्फी घेराबन्दीका बाबजुद ओलीले पार्टीका अनेक समस्याहरूका व्यवस्थापन गरेरै छाडे । राष्ट्रियताप्रति चट्टानी अडान कायम राखेर नेपाल र नेपालीको नाक ठाडो बनाए । अन्तर्राष्ट्रिय जगत्मा सक्षम नेताको नाम चढाए । २०७२ सालपछि दुई पटक प्रधानमन्त्री भएपछिका दिनहरूमा जसरी ओलीले नेपाललाई चिनाए त्यो ‘ओलीवाद’को आरम्भका रूपमा बुझ्दा हुन्छ ।
अबको सरकारको नेतृत्व
चितवनमा उर्लिएको जनसागर र सौराहामा देखिएको अनुशासित कार्यकर्ताको पंक्तिले नेकपा एमाले बलियो हैसियतमा देखियो । २०७५ जेठमा एकीकृत नेकपाको हाराहारीमै शक्ति सञ्चय गर्दै अघि बढ्दै गरेका भान छाड्यो । केही स्थापित नेताहरूको अनुहार हराउनुबाहेक चितवनमा एमालेले प्राप्त नगरेको केही रहेन । हिन्दू जातिको धार्मिक कथामा हनुमानलाई आफ्नो शक्तिका बारे अरूले बताइदिएपछि चेत खुलेजस्तै एमालेले चितवनबाट आफ्नो वास्तविक शक्ति बुझ्यो ।
मजबुत संगठन, अनुशासित कार्यकर्ता पंक्ति, नेपाली जनताको अपार माया पाएको अध्यक्ष ओलीप्रेमको परीक्षण चितवनबाट एमालेले ग¥यो । सरकारमा रहँदा भए, गरेका ऐतिहासिक कामहरूका पक्षमा हरेक उमेर, समूह तथा वर्गका नागरिकको ठूलो हिस्सा भएको निष्कर्ष एमालेले उक्त अधिवेशनबाट निकालेको छ । ठूलो जनहिस्सा तीनवटै तहमा फेरि पनि एमालेकै बहुमतको सरकारको प्रतीक्षारत रहेको अधिवेशनको माहोलले जनाउँछ ।
समाजवादको आशा
गत असोजमा सम्पन्न एमालेको पहिलो विधान अधिवेशनले अधिकतम कार्यक्रम समाजवाद पहिल्याएको एमाले चितवन महाधिवेशनपछि अलि उत्सुक भएको छ । समाजवादलाई लिखत, भाषण र विचारको शब्द बनाउँदै आएकोमा चितवन महाधिवेशनपछि समाजवादी गन्तव्य अलि छोटो भयो कि भनेर एमालेका नेता, कार्यकर्ता सोच्दै छन् । एमालेले किटान गरेका शत्रुहरूको परास्त गर्दै संविधानको रक्षा, प्रयोग र उपयोग गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई भ¥याङ बनाएको छ । यसले समाजवादी चुचुरोमा पुग्ने रोडम्याप चितवन अधिवेशनले गरेको छ ।
समृद्धिको रोडम्याप
समाजवादी रोडम्यापको प्रमुख कडी ‘समृद्ध नेपालः सुखी नेपाली’ हो । ‘जसको नीति उसैको नेतृत्व’लाई विश्वास गर्दा मुलुकलाई कायापलट गर्ने दूरदृष्टि समृद्ध नेपालः सुखी नेपालीलाई केपी ओलीले अघि सारे । त्यसैको रोडम्यापमा ओली सरकार हिँड्यो । सुरुवातीले गति लिएसँगै समृद्ध मुलुक भ¥याङ चढ्दै गरेको सूचांक सार्वजनिक भयो । नेपाल र नेपाली ‘सुखी’ बनाउने रणनीतिमा ओली सरकारले केही प्रविधियुक्त आधुनिक नेपालमा फड्को मार्न सक्ने कामको थालनी ग¥यो । तत्काल ‘खुसी’ बनाउने कार्यक्रम लागू गरिए । गरिबीको ग्लानि खेपिरहेका जनताका मुहारमा खुसीका चमक दौडिन थाले । खुसीका युवा आवाजहरू मुखारित हुँदै सडकमा गुञ्जन थाले, ‘आई लभ केपी बा ।’ बा–आमाले भन्न थाले, ‘केपी नै ठीक। ’ केटाकेटीले पनि ‘केपी बाजे’ भन्दै सोधीखोजी गर्न थाले ।
दुःखेसोको सम्बोधन
पद नपाउँदा पार्टीभित्र शपथ बहिष्कार गर्ने र फरक धारको अस्वादिलो अडानले ‘हलो अड्काउँदै गोरु पड्काउने’ बेहोरा सम्झँदा भीम रावलप्रति सौराहाको बन्द सत्रले सहानुभूति राख्नु पर्दैनथ्यो । नेकपा एमालेको मात्र हैन नेपालकै ‘राजनेता’ को पगरी प्राप्त गर्दै गरेका ओलीले भने उनको दुःखेसो सम्बोधन गर्नु पथ्र्यो । बन्दसत्रमा ओलीले रावललाई सुहाउँदो पदका लागि गरेको अनुरोधको आवाज हाम्रो कानमा अझै गुञ्जयमान छ । सायद ओलीलाई सर्वसम्मतिको नेताबाट रोक्न आफ्नै वा अरूबाट सुझाइएको सोच प्रस्फुटन रावलले गर्नु दुःखद् पक्ष थियो । परन्तु ओलीले देखाउनु भएको सदाशयता रावलले पालना नगर्दा निर्वाचनको विधि अवलम्बन भयो । बन्द सत्रका ९५ प्रतिशत प्रतिनिधिको सर्वसम्मतिको हुटिङलाई सम्झाउँदै ओली स्वयम्ले लोकतान्त्रिक विधिको ढोका खोल्न बन्दसत्रमा अनुरोध गर्नु भएको थियो । यद्यपि भीम रावल, घनश्याम भुसाल र देशभरिका केही न केही दुःखित नेता र कार्यकर्तालाई सम्बोधन र व्यवस्थापन गर्ने नीति अघि सार्न अध्यक्ष ओलीबाट कदमहरू चालिनुपर्छ । त्यसले समाजवादको अधिकतम कार्यक्रम सम्म पुग्ने मार्ग सहज बनाउने नै छ ।
साभार अन्नपुर्ण बाट









